हिरासतको झ्याल फोडेर भागे ३ जना कैदी
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना कैदी भागेका छन्। राति १ बजे तीन जना थुनुवा हिरासतको झ्याल फोडेर भागेका हुन्।
लागुऔषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिमम्सिनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु रहेका छन्।
उनीहरु तीनै जना लागुऔषध कारोबार अभियोगमा पक्राउ परेको डिएसपी तिम्सिनाले जानकारी दिए। कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने सुनिल थारु चैत १६ गते पक्राउ परेका थिए। रेग्मी २०७६ साउन १६ गते पक्राउ परेका प्रहरीले जनाएको छ ।
उनीहरुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताए।
थुनुवा झ्याल नै उप्काएर भाग्दा पनि प्रहरीले भने बिहान मात्र थाह पाएको थियो। यसमा भएको लापरबाही बारे खोजी गरिने डिएसपी तिम्सिनाले बताए।
‘केही समयपछि हामीलाई हेडक्वाटरबाट निर्देशन पनि आउनेछ, त्यसअनुसार प्रदेशस्तरीय छानविन समिति हामी गठन गर्छौं’ उनले भने।