डेरा गरि बस्ने विद्यार्थीलाई कोठाभाडा छुट देउ : अखिल क्रान्तिकारी
काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले डेरा गरि बस्ने सम्पूर्ण विद्यार्थीको कोठाभाडा छुट दिन आग्रह गरेको छ । सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा कोठा भाडा लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुको १ महिनाको घरभाडा छुट दिन घरधनीहरुलाई आग्रह गरेको हो ।
अखिल क्रान्तिकारीका सेति महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस (कोभिड १९) विश्व आक्रान्त भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका हुन । विज्ञप्तिमा भनेका छन्, ‘विद्यार्थीहरु र दैनिक मजदुरी खाने वर्गलाई दैनिक उपभोग्य वस्तु खाद्यान्नमा समस्या परेको हुँदा घुम्ती सेवा प्रभावकारी बनाई सहज उपलब्धता, सहुलियत र राहत उपलब्ध गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराउदछौं ।’
त्यस्तै विज्ञप्तिमा निजी स्कुलहरुलाई एक महिनाको शुल्क पनि नलिन अनुरोध गरिएको छ । विरामीहरुलाई विशेष सुविधा सहित उपचार गर्न सम्बन्धीत निकायलाई आग्रह गर्दै अखिल क्रान्तिकारीले संकटको वेलामा बन्द गरेर हिड्ने अस्पताललाई कारवाही गर्नसमेत अनुरोध गरेको छ ।
