बाँकी स्वास्थ्य सामग्री सेनाले ल्याउने, यस्तो हुँदैछ तयारी
काडमाडौं – स्वास्थ्य सेवा विभागले खरिद गर्न लागेको बाँकी स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिइने भएको छ । पूर्वप्रतिवद्धताअनुसार कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री नेपाली सेनाले ल्याउने भएको हो ।
विभागले खरिदको टेण्डर आह्वान नगरी सरकार सरकारबीचको सहमति (जीटुजी) मा ल्याउने गरि तयारी भइरहेको छ । बुधबार ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बिहीबार तीन दिनको समय दिएर टेण्डर आह्वान गर्ने बताएका थिए ।
तर सरकारले त्यसलाई रोकेको छ । ‘जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज टेण्डर आह्वान भएन’ महानिर्देशक श्रेष्ठले भने ।
स्रोतकाअनुसार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले जी टू जी (दुई देशको सरकारबीच) सहमति गरेर स्वास्थ्य सामग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारीबारे छलफल भइरहेको छ । सम्भवतः समितिले बिहीबार नै निर्णय गर्नेछ ।