नेपालमा कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश, के हो दोस्रो चरण भनेको ?

शनिबार, २२ चैत्र २०७६

काठमाडौं – सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा प्रदेश गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको बताएका हुन ।

देवकोटाले सुदूरपश्चिम प्रदेशको धनगढीमा थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएपछि यस्तो घोषण गरेका हुन । तीन जनामा १ जना नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले कोरोनाको संक्रमण दोश्रो चरणमा प्रवेश गरेको उनको भनाई छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए ।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताए ।

विदेशबाट स्वादेशमा आएकाहरुलाई कोरोना पोजेटिभ देखिएको खण्डमा यसलाई पहिलो चरण भनिन्छ भने विदेशबाट आएका नागरिकका आफन्तलाई कोरोना पोजेटिभ देखिएको खण्डमा कोरोनाको दोश्रो भरण भन्ने गरिएको छ ।

१४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई पनि पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पाइएकाले क्वारेन्टाइनको अवधि बढ्न सक्ने उनले बताए ।