आठौं कोरोना संक्रमितलाई पक्राउ गर्ने सशस्त्र प्रहरीको अवस्था कस्तो छ ?

आइतबार, २३ चैत्र २०७६

कञ्चनपुर – कञ्चनपुरका ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै तीनलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीले क गर्दै होला ? यस्तो धेरैलाई लागेको हुनसक्छ ।

कञ्चनपुरको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले कोरोना संक्रमित व्यक्तिलाई नियन्त्रणमा लिन खटिएका सशस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताए ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि संक्रमण भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिए ।

ती संक्रमित महिलासँगै अन्य ५ जना भारतको उत्तराखण्डबाट चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए । ‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो,’ ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने, ‘गाडीको पछाडिपट्टि राखेर हाम्रो टोलीले गड्डाचौकी पुर्याएको थियो ।’

उद्धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा बसेको उनले प्रष्ट पारे । ‘हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन,’ उनले भने ।

गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि सत्रस्त्र प्रहरी बलले आवश्यक सावधानी अपनाएको उनले बताए ।