के हो भारतबाट फर्केका वडाध्यक्षको पारा ? प्रहरीले लियो यस्तो एक्सन
जनकपुरधाम – भारतबाट आएका धनुषाका एक जनप्रतिनिधिले सरकारको नियम उल्लङ्घन गरेको पाइएको छ । उनी भारतबाट आएर क्वारेन्टाइनमा नसबेपछि स्थानीयबासी त्रसित छाएको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगेन्द्र पाठक भारतबाट करिब एक महिनापछि आफ्नो घर फर्केका छन् । कोरोना संक्रमण फैलिन नदिन लकडाउन लगाएको अवस्थामा उनी शनिबार राति लुकेर घर आएको र घरमै सेल्फ क्वारेन्टाइनमा नबसी छिमेकमा हिँडडुल गर्न थालेपछि स्थानीयबासी त्रसित भएका छन् ।
पछिल्लो एक महिनादेखि उनी भारतको बिहार राज्यअन्तर्गत मधुवनीमा बस्दै आएका थिए । वडा अध्यक्ष पाठकले लकडाउन पालना नगरेको भन्दै स्थानीयबासीले प्रहरीमा उजुरीसमेत गरेका छन् ।
‘स्थानीयबासीले हामीलाई वडाअध्यक्ष भारतबाट आएको विषयमा जानकारी गराएका छन्,’ इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले भने, ‘हामी यो कुरा गाउँपालिका अध्यक्षलाई जानकारी गराइसकेका छौं ।’
प्रहरी निरीक्षक रोकायाले गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखलाई जानकारी गराएपछि उनले यस विषयमा छलफल गर्ने बताएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष शेखले आफूलाई पनि यो विषयमा सूचना आएको बताएका छन् । उनले सूचना आएपछि आफू वडा अध्यक्ष पाठकलाई भेट्न नसकिएको र सोमबार बिहानै भेटेर क्वारेन्टाइनमा जान आग्रह गरिने बताएका छन् ।