जगदम्बा स्टिल्सका मालिक रङ्गेहात पक्राउ

मंगलबार, २५ चैत्र २०७६

काठमाडौं – ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् । जगदम्बा स्टिल्स र जगदम्बा सिमेन्टका मालिक अग्रवाल ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयामा बिक्री गर्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद गरेको छ । शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो ।

मंगलबार दिउँसो नक्सालमा ६७ वटा थर्मल गन बिक्री गर्न लाग्दा रङ्गेहात प्रहरीको फन्दामा परेका हुन । कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए ।

अग्रवालले कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताए । अग्रवाललाई अहिले अपराध महाशाखा लगिएको छ । एसएसपी थापाले भने, ‘थर्मल गन बाहेक अन्य स्वास्थ्य सामग्रीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’