अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध लम्बियो

मंगलबार, २५ चैत्र २०७६

काठमाडौं – सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध लम्ब्याएको छ । अव वैशाख १८ गतेसम्म नेपालमा कुनैपनि अन्तराष्ट्रिय उडान हुने छैन ।

कोरोनाभाइरस (कोभिड–१९) सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

यसअघि ३ वैशाखसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध थियो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।

त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । यसबीचमा चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।