रास्कोट नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने

मंगलबार, २५ चैत्र २०७६

कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले कोरोनाभाइरस (कोभिड १९) का कारण प्रभावित व्यक्तिहरुलाई राहत वितरण गर्न एकद्वार प्रणाली अपनाउने भएको छ । नगरपालिका भित्र आफूखुशी राहत वितरण गरेको गुनासो आएपछि नगरपालिकाले एकद्वारा प्रणलीबाट राहत वितरण गर्ने भएको हो ।

वितरण गरिएको राहत बास्तविक पिडतसम्म पुर्याउनलाई यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । मंगलबार नगरपालिकाले एक अपिल सार्वजनिक गर्दै राहत वितरण गर्न इच्छुक संघ/संंस्था/व्यक्तिलाई नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ । नगरपालिकाले बास्तविक पिडितहरुको पहिचान गरेर राहत दिने भएकाले राहत साम्रागी (जिन्सी तथा आर्थिक) सहयोग गर्न इच्छुकले नगरपालिकाको विपत व्यवस्थापन समितिलाई सम्पर्क गर्न सकिने नगर प्रमुख काँशीचन्द्र बरालले बताए ।

त्यसका लागि नगरपालिकाले बैंक खाता खोली संचालनमा ल्याएको छ । रास्कोट नगरपालिकामा रहेको ग्लोवल आइएमई बैंकको शाखामा रहेको रास्कोट नगरपालिका विपत व्यवस्यापन कोषको खाता नम्बर E२०४०१००००००७ मा सिधै रकम जम्मा गर्न सकिने नगर प्रमुख बरालले बताए ।

जिन्सी सहयोग गर्नेहरुले भने नगरपालिकाको विपत व्यवस्थापन समितिमा सम्पर्क गर्न सकिनेछ । रकम जम्मा गर्नेले व्यक्ति/संख्थाले नगरपालिकाको इमेलमा भौचर पठाउन अनुरोध गरिएको छ ।