रास्कोट नगरपालिकामा राहत वितरण सुरु, नाम छुटेकालाई सम्पर्क गर्न आग्रह

बुधबार, २६ चैत्र २०७६

काठमाडौं – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले लकडाउनबाट प्रभावित नगरवासीहरुका लागि राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दैनिक ज्याला मजदुरी गरि गुजारा गर्ने, अत्यन्त गरि किसानहरुलाई राहत वितरण गर्न लागेको हो ।

घरमा रासन नभएका, रासन खरिद गर्न नपाई भोकै बसेका, अति विपन्न तथा असाह्यहरुलाई राहत दिनेगरी तयारी गरिरहेको नगरपालिकाले जनाएको छ । त्यस्ता गरिव पारिवारलाई ३० केजी चामल, दुई केजी दाल, १ प्याकेट तेल र १ प्याकेट नुन वितरण गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख काँशीचन्द्र बरालले बताए ।

राहत वितरण वडा स्तरवाट गरिनेछ । विपन्न तथा गरिव परिवारको लगत संकलन गरिसकिएको र त्यही अनुसार राहत वितरण गरिने नगर प्रमुख बरालले बताए । उनका अनुसार कसैको नाम छुटेको भए आफ्नो वडा अध्यक्षलाई सम्पर्क गर्न अपिल गरेका छन ।

बुधबार एक सार्वजनिक सूचना निकाल्दै नगरपालिकाले कोही छुटेलाई सम्पर्क गर्न र गैरकानुनी रुपमा कसैले नाम टिपाएको भए राहत नलिन आग्रह गरेका छन । यदी कसैले त्यसो गरेको पाइए कानुन अनुसार कारवाही गरिने सूचनामा उल्लेख छ ।