कोरोनाबाट थप एक नेपालीको मृत्यु, बहराइनमा १० नेपालीमा कोरोना देखियो

बिहिबार, २७ चैत्र २०७६

अमेरिका –कोरोना भाइरस (कोभिड–१९) संक्रमणले अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका ४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।

ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले बताएको छ ।

उनी शेर्पा किदुगका आजीवन सदस्य थिए । शेर्पाका एक छोरा र एक छोरी छन् । शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण अमेरिकामा मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ । यसअघि ५० वर्षीय अनिल सुब्बाको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो ।

त्यस्तै, बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

केही समय अगागि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । सोही क्रममा थप १० जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको छ ।