नेकपा अध्यक्ष प्रचण्ड तनावमा
काठमाडौं – सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तनावमा छन्। कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका हुन्।
खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री विवादमा परेपछि पार्टी सचिवालयको बैठक राखिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ नदिएपछि उनी थप तनावमा छन । सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतमलगायतका नेताहरुले भ्रष्टाचारको विषयमा बैठकमा कुरा उठाएका भएपछि ओलीले घुमाउरने जवाफ दिएका थिए ।
सरकारका कामको विषयलाई लिएर पार्टीभित्र अन्तर्विरोध बढ्दै गएको छ। पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले स्वास्थ्य मन्त्रालयबाट भएको स्वास्थ्य सामग्री खरिद प्रकरण र सेनालाई स्वास्थ्य उपकरण खरिद गर्न दिएको विषयलाई लिएर सरकारको आलोचना सार्वजनिक रुपमै गर्न थालेका छन्। यही बीच दाहालले पूर्वमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर शुक्रबार छलफल गरेका थिए।
स्रोतका अनुसार उनीहरुबीच लामै छलफल भएको थियो। नेपाली सेनालाई स्वास्थ्य उपकरण तथा औषधि खरिद गर्ने जिम्मेवारी दिनेदेखि क्राइसिस म्यानेजमेन्ट समितिको कार्यालय सेनाको ब्यारेकमा राखेको विषयमा समेत छलफल भएको थियो। गत पुसमा सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले पार्टीभित्र गुट भेला नगर्ने निर्देशन दिएविपरीत उनले आफू पक्षीय मन्त्री र नेताहरुलाई बोलाएर छलफल गरेका हुन्।
दाहालले दैनिकजसो पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसँग टेलिफोनमा कुराकानी गरिरहेका छन्। ‘स्वास्थ्य उपकरण खरिदलगायतको विषयलाई लिएर पार्टी र सरकार दुवैको आलोचना भएको छ। यस्तो बेलामा पार्टी शीर्ष नेतृत्व मौन बस्नु हुन्न भनेका छौं’, सचिवालयका एक सदस्यले भने।
सचिवालय बैठकमा पनि प्रचण्ड र ओलीका बीचमा चर्काचर्की भएको एक सचिवालय सदस्यले बताए । उनका अनुसार प्रचण्डले काठमाडौं प्रेस नामक अनलाइनको समाचार सचिवालयकै ब्यक्तिको संलग्नतामा हटाइएको, पार्टी एकताको मर्म विपरित पार्टीकै व्यक्तिहरुबाट संचालिक मिडियाहरुले सरकारको र पार्टी आलोचना गरेको, प्रधानमन्त्रीको सचिवालयका साथिहरुले पार्टी एकता विरुद्धका अभिव्यक्ति दिएको भन्दै प्रचण्डले उनीहरुलाई कारवाहीको प्रस्ताव गर्न लागेका थिए । यस्तो कुराहरु उठाएपछि प्रधानमन्त्री ओली पट्टीएको र लामो चर्चार्की भएको श्रोतको भनाई छ ।
त्यपछि प्रचण्डलाई वेचैन हुन थालेको र पार्टी नेतृत्वको बारेमा सोचमग्न हुने गरेको प्रचण्ड निकट श्रोतको भनाई छ ।