नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघद्वारा २० हजार सहयोग
बनेपा – नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ काभ्रेले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नका लागि बीस हजार रुपैँया सहयोग गरेको छ । संघले बनेपा नगरपालिकालाई कोरोना भाइरस रोकथामका साथै बिपन्न बर्ग र मजदुरलाई राहत प्रदान गर्ने प्रयोजनका लागि बीस हजार १० रुपैयाँ सहयोग गरेको हो ।
विश्वव्यापी रुपमा कोरोना भाइरसले महामारीको रुप लिइरहेका वेला हाम्रो देशमासमेत यसको रोकथामका लागि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा ज्यालादारी मजदुर गरिखाने बर्ग र बिपन्न बर्गको जन जीवन तहस नहस भएको भन्दै उनीहरुको खानपिनको व्यवस्था मिलाउन उक्त रकम हस्तान्तरण गरेको नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ काभ्रेले जनाएको छ ।
संघले नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघले देश व्यापि रुपमा यथासक्य सहयोग गर्न आह्वान गरे अनुरुप काभ्रे जिल्लाले सहयोग गरेको अध्यक्ष रघु कपालीले बताए । महासंघ मानार्थ सदस्य सानू काजी थापा र सचीव तेज नेपालीको नेतृत्वमा गएको टालीले बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठलाई नगद बीस हजार दस रुपैयाँ विहिबारै हस्तान्तरण गरेको संघले जनाएको छ ।
