जनता भेटेको अभियोगमा सांसद प्रदीप यादवलाई कारवाही

बिहिबार, २७ चैत्र २०७६

वीरगञ्ज – सीमावर्ती सहर रक्सौलको क्वारेन्टाइनमा रहेको नेपालीहरुलाई भेटेको अभियोगमा साम्सद प्रदिप यादवलाई सरकारले कारवाही गरेको छ । नेपालीहरको अवस्था बुझ्न रक्सौल पुगेका उनलाई गृहमन्त्रालयले यादवलाई क्वारेन्टाइनमा राखेर कारवाही गरेको हो ।

गृह मन्त्रालयले समाजवादी पार्टीका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उनी हालै मात्र भारतीय सीमा क्षेत्रमा नेपालीहरुलाई राखिएको क्वारेन्टाइन स्थल पुगेका थिए । त्यही कारण उनलाई क्वारेन्टाइनमा राख्न भनिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यादवलाई होम क्वारेन्टाइनमा राखिएको बताए । ‘उहाँसहित क्वारेन्टाइन स्थलमा पुगेका चारै जनालाई होम क्वारेन्टाइनमा राखेका छौं र उहाँहरु हाम्रो निगरानीमा हुनुहुन्छ ।’

दुवै देश लकडाउनमा रहेको अवस्थामा सांसद सीमापारी गएर आएकोले उनी क्वारेन्टाइनमा बस्नुपर्ने माग चर्को रुपमा उठेको थियो ।