आफ्नै बाबुको हत्या गर्ने युवक पक्राउ

शुक्रबार, २८ चैत्र २०७६

गुल्मी – गुल्मीमा प्रहरीले बावुको हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ पालुखा निवासी ४६ वर्षका टेकबहादुर कुमालको हत्या आरोपमा छोरा २९ वर्षका अर्जुन कुमालाई पक्राउ गरिएको गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।

बिहीबार राति बाबु र आमाबीच झगडा हुँदा अर्जुनले बाबुलाई कुटपिट गरेका थिए । घर बनाउने बिषयमा श्रीमान श्रीमतीबीच झगडा भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउन परेका छोरा सुस्त मनस्थितिको रहेको प्रहरीले जनाएको छ । शबको पोष्ट मार्टम रिर्पोटबाट थप खुल्ने प्रहरी निरीक्षक पुनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।