टाँडीको क्वारेन्टाइनमा रहेका ८२ जनाको रिपोर्ट आयो

शुक्रबार, २८ चैत्र २०७६

विराटनगर – मोरङको टाँडीस्थित क्वारेन्टाइनस्थलमा राखिएका ८२ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । ६ भारतीय नागरिकसहित ८२ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले क्वारेन्टाइनमा रहेका उनीहरुको घाँटी र नाकबाट स्वाब लिएर परीक्षण गरेको थियो । र्‍यापिड डिटेक्सन टेस्टमार्फत बुधबार ४१ जना र शुक्रबार थप ४१ जनाको स्वाब परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयको निगरानी प्रतिवेदन तथा अनुगमन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले बताए ।

उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

त्यस्तै, रिपोर्ट नेगेटिभ आएपछि टाँडीको क्वारेन्टाइनमा रहेका ४१ जनालाई घर पठाइएको छ । क्वारेन्टाइनस्थलको व्यवस्थापन जिम्मा लिएको नेपाली सेनाले उनीहरुलाई सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा घर पठाएको छ ।

नेपाली सेनाको सूर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेलले नेगेभिट रिपोर्ट आएकाहरुलाई जनप्रतिनिधिको जिम्मा लगाइएको बताए । घर पठाइएकामा खोटाङ र उदयपुरका छन् ।

अन्यलाई पनि जिम्मा लगाउन सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क गरिरहेको गणपति पौडेलले बताए । वैदेशिक रोजगारीबाट फर्किएका र भारतबाट मोरङको रानी र झापाको काकडभिट्टा नाका हुँदै प्रवेश गरेकाहरुलाई टाँडीको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा रहेका धेरैजसो प्रदेश एकका नै रहेका छन् । केही व्यक्ति कैलाली र सुर्खेतका पनि रहेका छन् । क्वारेन्टाइनस्थलमा एक सय ३१ जना राखिएका थिए ।