शनिबारदेखि क्वारेन्टाइनको स्थलगत अवलोकन गरिने

शुक्रबार, २८ चैत्र २०७६

काठमाडौं – कोरोनाका शंकास्पद व्यक्तिहरुलाई राख्न स्थानीय तह तथा अन्य निकायले बनाएको क्वारेन्टाइनको मापदण्ड पुगेरनपुगेकोबारे सरकारले स्थलगत अवलोकन गर्ने भएको छ ।

विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको ‘क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधी अनुसार’ मापदण्ड पूरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो ।

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

अनुगमनको पूर्वसन्ध्यामा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, १८ वटै नगरप्रमुख तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरे ।

छलफलमा राज्यमन्त्री मानन्धरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्वारेन्टाइनको अवस्थाबारे दुई दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने बताउँदै उपत्यका भित्रको वास्तविक अवस्था र तयारीबारे आफूले भोलिदेखि नै अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिए ।

मुलुक विपद्को घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख नताक्न उनले आग्रह गरे । राज्यमन्त्री मानन्धरले कोरोना नियन्त्रणका लागि केन्द्र सरकारले गरिरहेको प्रयासमा स्थानीय सरकारले साथ दिइरहे पनि कतै(कतै अन्योल देखिएको भन्दै विपद्का बेला जनताको जीवन रक्षाका लागि छिटो र छरितो ढंगले काम गर्न आग्रह गरे ।

क्वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्ड अनसारको काम गर्दा समस्या आए आफू सहजीकरणका लागि तयार भएको बताउँदै मन्त्री मानन्धरले विपद्को सामना गर्न गम्भिर ढंगले लाग्न सबैलाई आग्रह गरे ।

होटलहरुलाई क्वारेन्टाइन निर्माणका लागि केही समयलाई सरकारीकरण गर्न सकिने बताउँदै मन्त्री मानन्धरले त्यसका लागि आवश्यक समन्वय स्थानीय सरकार मार्फत् हुने बताए ।

भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा १७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ ।

यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय बेड तथा काठमाडौंको पशुपतिमा ७० बेड क्षमताको क्वारिन्टाइन मापदण्ड अनुसार रहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुढानिलकण्ड स्कुलमा एक सय, जनमैत्री अस्पतालमा १२४ बेड, इचंगु ब्लकमा चार सय बेड तथा दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय बेड बनाउन सकिने अवस्था रहेको जानकारी दिए ।

स्थानीय सरकार र प्रदेश सरकारको योजनामा केन्द्रीय सरकारको आवश्यक समन्वयमा कमी भएको भन्दै मेयरहरुले आवश्यक समन्वयका लागि राज्यमन्त्रीले पहल थाल्नु सकारात्मक भएको बताए ।