एकै दिन पाँच जना मृत भेटिए

शनिबार, २९ चैत्र २०७६

काठमाडौं – देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको क्षेत्रपाटी स्थित तण्डुकार टोल बस्ने ५० वर्षीय बिनोद तुलाधर आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी संखुवासभाको धर्मदेबी नगरपालिका ७ राईगाउँ बस्ने अन्दाजी २१ वर्षीय सुजन राई सोही ठाउँस्थित भदौरे जंगलमा शुक्रबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको जलजला गाउँपालिका ३ वारीबेनी दोभानस्थित कालीगण्डकी नदीको किनारमा पनि सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका घर भई हाल जलजला गाउँपालिका ३ वारीबेनीमा बस्ने ३५ वर्षीया देवकी थापा मगर मृत अवस्थामा फेला परेकी छिन् ।

रुकुम (पश्चिम), मुसिकोट नगरपालिका ८ बस्ने ७० वर्षीय नरबहादुर पाण्डे पनि मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित जंगलमा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

धनकुटाको धनकुटा नगरपालिका ६ पात्ले बस्ने ४० वर्षीय मनोज खड्का सोही नगरपालिकास्थित शिलढुंगाको चेपमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।