साउदी अरबमा कर्फ्युको अवधि अनिश्चितकालका लागि लम्ब्याइयो, नेपालीको अवस्था कस्तो छ ?

आइतबार, ३० चैत्र २०७६

काठमाडौं – कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि थप सावधानी अपनाउन साउदी अरबले कर्फ्यु लम्ब्याएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्युको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याइएको नेपाली दूतावासले साउदीले जनाएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबको विभिन्न १३ शहरको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत रहेको जनाइएको छ।

साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन र कर्फ्यूको समयलाई पूर्ण पालना गर्न रियादस्थित नेपाली दूतावासले सबै नेपाली हरुमा अनुरोध समेत गरेकोछ।

हालसम्म साउदीमा कोरोना संक्रमित ४ जना नेपाली मध्ये ३ जना उपचारपछि निको भैसकेको दूतावासले जनाएको छ । साउदीमा नेपालीबाहेक ४ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छन्।

कोरोना भाइरसका कारण साउदीमा ५२ जनाको ज्यान गैसकेको छ।