रास्कोट नगरपालिकाले सुरु गर्यो राहत वितरण कार्य, कसले कति पाए राहत ?

आइतबार, ३० चैत्र २०७६

कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले राहत वितरण कार्य सुरु गरेको छ । पालिका भित्रका विपन्न परिवारलाई आइतबारदेखि राहत वितरण सुरु भएको हो ।

कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रणका लागि संघिय सरकारले गरेको लकडाउनबाट प्रभावित बनेका स्थानीय बासीलाई राहत वितरण गरिएको रास्कोट नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अति विपन्न, असाह्य, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र किसानलाई खाद्यान्न सामाग्री लगायत राहत वितरण सुरु गरेको नगर प्रमुख काँशीचन्द्र बरालले बताए । बरालका अनुसार पहिलो चरणमा नगरपालिकाले नगरभरका ५ सय ३६ घरपरिवारलाई राहत वितरण गरेको छ । राहत प्याकेज अन्तरगत प्रति परिवार ३० केजि चामल, २ केजि दाल, १ प्याकेट तेल र १ केजि नुन उपलब्ध गराएको छ ।

नगरपालिकाले दोस्रो चरणमा ५ सय ३४ घरपरिवारलाई २ हजार ७ सय रुपैयाँका दरले राहत रकम बाड्ने तयारी गरेको छ । उक्त आर्थिक राहत रकम प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग एवं स्थानीय साझेदार संस्थाहरु हुरुन्डेक, सादा नेपाल र किर्डाक नेपालको समन्वयमा सोमबार बितरण गरिने छ ।