नेताहरुको कोरोना विशेष शुभकामना, हेर्नुहोस् राष्ट्रपतिदेखि प्रमुख प्रतिपक्षी दलका नेताको शुभकामना
काठमाडौं – आजबाट विक्रम सम्बत २०७७ साल सुरु भएको छ । यो अवसरकार राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख प्रतिपक्षी दलाका नेताहरुले शुभकामना सन्देश दिएका छन् । उनीहरु सबैले कोरोना सँथ लड्नसक्ने शक्ति प्रदान होस भनेर शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीले आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उनले अब अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने खाँचो औंल्याएकी छन् ।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले नयाँ वर्ष २०७७ ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने विश्वाससमेत व्यक्त गरेका छन् ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको बताएका छन् । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।’
प्रधानमन्त्री ओलीले भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘तपाईंहरुका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।’
त्यस्तै, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षमा कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन् ।
नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जितको वर्ष बनाउन आह्वान गरेका छन् ।
नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उनले समृद्धि र दिगो विकासको बाटोमा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गर्न आह्वान गरेका छन् ।
तया, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन् । उनले आजको चुनौती सामना गर्न कांग्रेसले सरकारलाई हरसम्भव सघाइरहेको पनि बताएका छन् ।
नयाँ वर्ष वि।सं। २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाईसघाइरहेको बताएका हुन् ।