कोरोना रोकथामको क्रममा मृत्यु भए ५० लाख राहत

सोमबार, १ बैशाख २०७७

विराटनगर – प्रदेश १ मा कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले नयाँ बर्षको अवसरमा आइतबार प्रदेशबासीको नाममा भिडियो सम्बोधन गर्दै कोरोनाको उपचारमा खटिने चिकित्सक, सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्सचालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमणबाट मृत्यु भए ५० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले सरकारले राहत वितरणका लागि प्रदेशका १ सय ३७ स्थानीय तहलाई साढे ९ करोड रुपैयाँ निकासा गरेको पनि जानकारी गराएका छन् । महानगरपालिकाले २० लाख रुपैयाँ, उपमहानगरपालिकाले १५ लाख रुपैयाँ, नगरपालिकाले १० लाख र गाउँपालिकाले ५ लाख रुपैयाँ पाउने गरी एकमुस्ट ९ करोड ५० लाख रुपैयाँ बजेट निकासा गरेको मुख्यमन्त्री राईले बताए ।

त्यसै गरी जिल्लामा कोरोना भाइरस रोकथामको अनुगमन र समन्वयका लागि प्रदेशका १४ जिल्ला समिन्वय समितिलाई ५÷५ लाख रुपैयाँ दिने मुख्यमन्त्री राईले बताए ।

कोरोना रोकथामका लागि प्रदेश १ सरकारले यसअघि नै ३ करोड रुपैयाँ विनियोजन गरेको थियो ।