लकडाउन उल्लङ्घन गर्दै अर्थमन्त्री सुटुक्क सनसिटीमा !

बुधबार, ३ बैशाख २०७७

काठमाडौं – कोरोनाभाइरस संक्रमित फेला परेको काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री युवराज खतिवडा पनि पुगेको खुलासा भएको छ । अपार्टमेन्टका सदस्य समेत रहेका कलाकार पुष्कर रेग्मीले अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्टमा चैत ११ गते गएको दाबी गरेका हुन् ।

प्राइम टाइम टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा उनले भनेका छन्, ‘हामीले सत्य बोल्नुपर्छ, ढाँट्नुहुदैन । अर्थमन्त्री खतिवडा चैत ११ गते अपार्टमेन्टमा आउनुभएको हो । गार्ड कमाण्डर लोकेन्द्रले राखेको रेकर्डमा पनि अर्थमन्त्री आएको देखिन्छ ।’

चैत ११ गतेबाट सरकारले लकडाउन लागु हुने घोषणा गरेको थियो । तर मन्त्री खतिवडा लकडाउनकै बेला उक्त अपार्टमेन्टमा पुगेको पाइएको हो । सो अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ ।

आइतबार (यापिड टेस्टका क्रममा एकै परिवारका तीन जनामा कोरोना संक्रमण भेटिएपछि केन्द्रीय प्रयोगशालामा भएको थप परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो । अहिले उक्त अपार्टमेन्टलाई सिलबन्दी गरिएको छ भने अपार्टमेन्टमा रहेका सबैको कोभिड–१९ परीक्षण गरिएको छ ।

उक्त अपार्टमेन्टमा भीआइपीहरुको समेत बसोबास छ । उक्त अपार्टमेन्टमा कलाकार रेग्मीका साथै बिनिता हमाल, मोनिका दाहाल, काँग्रेस नेता रमेश रिजाल, नेता भीम न्यौपाने, कृष्णप्रसाद सापकोटा, टुक हमाल, ऋषिकेष गौतम, न्यायाधीश विमलप्रसाद ढुङ्गेल लगायत भिआइपीहरु पनि बस्ने गर्छन् ।
अर्थमन्त्री डा.

युवराज खतिवडाका छोरा तिलक खतिवडासमेत सोही अपार्टमेन्टमाम बस्ने गर्छन् । अर्थमन्त्री खतिवडाका परिवारले सो अपार्टमेन्टमा २ वटा फ्ल्याट लिएका छन् ।

चैत ८ गते उक्त अपार्टमेन्टमा वेल फेयर सोसाइटीको चुनाव भएको थियो । सो चुनावमा तिलक सचिवमा निर्वाचित भएका थिए । छोरा तिलक निर्वाचित भएपछि अर्थमन्त्री खतिवडा समेत बधाई दिन अपार्टमेन्ट पुगेका हुन् । तर अर्थमन्त्री खतिवडाले भने यो विषयमा अहिलेसम्म केही बताएका छैनन् ।

तर, स्रोतबाट प्राप्त जानकारी अनुसार चैत ११ गते साँझ ५ः१३ मा सनसिटी अपार्टमेण्टमा एउटा झण्डावाल गाडी पुगेको छ । त्यो गाडीमा को थिए भन्नेबारे धेरै खोजी नीति नगरिएको भएपनि बा२झ ३७३३ नम्बरको झण्डावाल गाडी सनसिटी अपार्टमेण्ट पुगेको प्रमाण भेटिएको छ । साँझ ५ः१३ मा अपार्टमेण्ट प्रवेश गरेको उक्त झण्डावाल गाडी ४२ मिनेट बसेर साँझ ५ः५५ बजे त्यहाँबाट निस्किएको छ ।

तर अर्थमन्त्री युवराज खतिवडाका प्रेस संयोजक यमनप्रसाद पौडेलले भने मङ्गलबार र बुधबार विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै अर्थमन्त्री त्यहाँ नगएको बताइरहेका छन् ।

सनसिटी अपार्टमेन्ट पुग्दैमा अर्थमन्त्री खतिवडा कोरोनासंक्रमित हुने होइन । किनभने उनी त्यहाँ गएर संक्रमितहरुको सम्पर्कमा आए वा आएनन् भन्ने अझै खुलेको छैन । तर, उनी पुगेको स्थानमा संक्रमित भेटिएपछि उनलाई पनि ‘जोखिम’ को सूचीबाट बाहिर राख्न पनि मिल्दैन । आफै सहभागी भएको सरकारले लागू गरेको लकडाउनको नियम आफैले उल्लङ्घन गर्दै सामाजिक जमघटमा सहभागी भएर मन्त्री खतिवडाले मन्त्रिपरिषद्का सदस्यदेखि उनको सम्पर्कमा आएका धेरैलाई जोखिमको दायराभित्र समावेश गराएका छन् ।