सुमो चालकले हप्ताको रकम नदिएपछि कांग्रेस नेता राईले ताके बन्दुक

सोमबार, १६ भाद्र २०८२

काठमाडौँ – सुमो चालकले हप्ताको रकम दिन नमानेपछि कांग्रेस नेता श्यामकुमार राईले भरुवा बन्दुक तोकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चालकलाई भरुवा बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सूमो रोकेका हुन् ।

खार्मीमै घर भएका राईले दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोसँग सडक दस्तुर मागेका थिए । आफूहरूले मर्मत गरेको सडकमा गाडी गुडाएको भन्दै राईले प्रतिसुमो तीन हजार रुपैयाँ असुल्दै आएका छन् ।

आफूहरूले सडक मर्मत गरेको भन्दै सहयोग रकम माग गर्दै कांग्रेस नेता राईले बन्दुक तेर्साएको चालक सविन तामाङले बताएका छन् । चालक तामाङका अनुसार नेता राईले सडकमा बाँस तथा मुढाहरू राखेर सडक अवरोध गर्दै आक्रमणको प्रयास गरेका थिए । चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीका राईलगायतले खोसेको सूमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलिप राईले बताए ।

नेता राईले आइतबारसमेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको चालक तामाङले जनाएका छन् । नेता राईको अवरोधकाबिच आइतबार काठमाडौँ जाने यात्रुलाई समयमै दिक्तेल पु¥याउनुपर्ने भएकाले सुमो भगाएर गाउँ पार गराएको चालक तामाङले बताए । सोमबार भएको घटनापछि बिच बाटोसम्म आफ्नो भाइलाई बोलाएर यात्रुसहितको सुमो दिक्तेल पठाएको चालक तामाङले बताएका छन् ।

राईले आइतबार अर्का सुमो चालक जीवन कार्कीबाट भने तीन हजार रुपैयाँ असुलेको यातायात व्यवसायीहरूले बताएका छन् । चालक तामाङकै पछिपछि आइरहेको ना१ज ८१६९ नम्बरको सूमो चालक कार्कीबाट नेता राईले घर अगाडी रोकेर रकम लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घटनालगत्तै चालक तामाङले अस्थायी प्रहरी चौकी खार्मीमा भिडियो क्लिप्ससहित आफूहरूलाई खबर गरेको प्रहरीले जनाएको छ । घटनास्थल अर्थात नेता राईको घरमा टोली पुग्दा ताला लगाएको पाएको प्रहरी चौकीका इन्चार्ज वरिष्ठ हवल्दार वीन्द्रबहादुर नेपालीले जानकारी दिए ।

घटनास्थलमा जिल्लाबाट समेत प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढोथोकीले बताए । जिल्लाबाट खटिएका प्रहरीले नेता राई दम्पतीको खोजी सुरु गरेको जनाएको छ । खार्मीमा भएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न वडाध्यक्ष इखबहादुर राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गरेका छन् ।

कांग्रेस नेता राईले मादक पदार्थ सेवन गरेर यसअघि पनि गाउँमा अशान्ति सिर्जना गर्दै आएको स्थानीयले बताएका छन् । नेता राई खार्मीस्थित जालपा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन् ।