१ सय दुई वर्षीय वृद्धले सर्वोच्च शिखर आरोहण गरी राखे विश्व कीर्तिमान

शुक्रबार, २० भाद्र २०८२

काठमाडौँ – एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल भएका छन् । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो ।

“म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भने, “शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ । धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो ।”

अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए । टोलीले अगस्ट ५ मा समुद्री सतहदेखि तीन हजार सात सय ७६ मिटर ९१२ हजार तीन सय ८८ फिट० उचाइमा रहेको जापानको सबैभन्दा अग्लो शिखरमा पुग्नु अघि ट्रेलमा दुई रात शिविरमा बिताएको थियो ।

पचहत्तर वर्षीया अर्की छोरी युकिकोले बुबाका कानमा प्रश्नहरू दोहोर्‍याउँदै सहयोग पुर्‍याए । अकुजावालाई सुन्न कठिन छ । “उमेरसँगै कुनै पनि पर्वत सामान्य हुँदैन”, अकुजावाले भने, “जति सकिन्छ, चढ्नु राम्रो हुन्छ ।” यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन । उहाँ ९६ वर्षको उमेरमा नै फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए। त्यसपछि उनले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद (चर्मरोग) र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिएका थिए ।

फुजी आरोहण अघि उनले तीन महिनासम्म विशेष तालिम लिए । बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्नुहुन्थ्यो र हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाडहरू आरोहण गर्थे ।

अकुजावाको पर्वतप्रेम युवावस्थामै सुरु भएको हो । टोकियोबाट करिब दुई सय ४१ किलोमिटर उत्तरपश्चिममा रहेको मायबासीस्थित घरमा, आफन्त र पर्वतचित्रहरूले घेरिएको बैठक कोठामा बस्दै उहाँले ८८ वर्षअघि आफूलाई पर्वततर्फ आकर्षित गरेको अनुभव सम्झिए । शिखरमा पुग्ने जादु निर्विवाद भए पनि, उहाँलाई बारम्बार फर्काइराख्ने शक्ति भने मानिसहरूसँगको सम्पर्क नै थियो ।