मेटाले गर्यो नेपालमा दर्ता नहुने संकेत
काठमाडौं – सामाजिक संजाल फेसबुकको मुख्य कम्पनी मेटाले नेपालमा कार्यालय संचालन गरेर सूचीकृत नहुने संकेत गरेको छ । मेलाले नेपालमा सूचीकरणको प्रक्रिया झण्झटिलो भएको भन्दै सूचीकरणमा नआउने संकेत गरेको हो ।
सञ्चार मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार अहिलेसम्म लिंक्डइन, टेलिग्राम र स्न्यापच्याटले मात्रै सूचीकरणका लागि चासो देखाएका छन् । बाँकी कुनैले पनि औपचारिक चासो देखाएका छैनन् ।
यसअघि फेसबुक सञ्चालक कम्पनी मेटाले सूचीकरणका लागि चासो राखेको बताइएको भए पनि आधिकारिक नभएर कम्पनीकै एक कर्मचारीले चासो राखेको सञ्चार मन्त्रालय स्रोतले जानकारी दियो । निष्क्रिय गराउनुअघि मेटाका प्रतिनिधि नेपाल आएर सूचीकरणमा चासो राखेका थिए ।
तर फर्किएपछि ‘नेपालको प्रक्रिया झन्झटिलो रहेको हुँदा सूचीकरण हुन नसक्ने’ औपचारिक जानकारी गराएको पाइएको छ । “हामीले पहिले पनि मेटालाई सूचीकरणका लागि आग्रह गरेका थियौँ,” मन्त्रालयका एक अधिकारीले भने,“ती प्रतिनिधि यहाँ हुँदा सूचीकरणमा चासो देखाएका थिए तर फर्किएर सिंगापुर पुगेपछि नेपालको प्रक्रिया झन्झटिलो भएकाले सूचीकरण हुन नसक्ने जानकारी गराए ।”
उनका अनुसार ‘यहाँबाट हुन्छ भनेर गए । उता गएपछि अर्का कुरा गरे ।’ सञ्चार मन्त्रालयका एक अधिकारीले मेटाले त्यसपछि कुनै चासो देखाएको पाइएको छैन । “युट्युबले पनि चासो देखाएको छैन,” ती अधिकारीले भने, “निष्क्रिय गरिसकेपछि आएको इमेल मेटाकै कर्मचारीको भए पुष्टि भएको छ । तर त्यसपछि सोधखोज केही छैन । त्यसमा सूचीकरणका लागि के के चाहिन्छ भनेर सोधिएको थियो । त्यो कुरा हामीले पहिला पनि जानकारी गराएका थियौँ ।”