भाटभटेनीमा लागेको आगो चार दिनसम्म पनि नियन्त्रणमा आएन

शुक्रबार, २७ भाद्र २०८२

काठमाडौं – काठमाडौं चुच्चेपाटीस्थित भाटभटेनीमा लागेको आगो चार दिनसम्म पनि नियन्त्रणमा आएको छैन। प्रदर्शनकारीहरूले मंगलबार चुच्चेपाटीमा रहेको आउटलेटमा आगो लगाएका थिए। प्रदर्शनकारीहरूले सुरूमा तोडफोड गर्न थालेका थिए। एक्कासि तोडफोड हुन थालेपछि त्यहाँ रहेका कामदारहरूले भागेर ज्यान जोगाएका थिए।

कामदारहरू निस्किएपछि प्रदर्शनकारीले भित्रै पसेर लुटपाट र आगजनी सुरू गरेका थिए। अहिले भाटभटेनीको अन्तिम तलामा आगो लागिरहेको छ भने नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले निभाउने प्रयास पनि गरिरहेको छ। नेपाली सेनाले बुधबारबाटै निभाउने प्रयास गरे पनि खाद्यान्न, लत्ताकपडा, घरायसी सामग्रीको ठूलो भण्डारण रहेको भाटभटेनीको आगो नियन्त्रणमा आएको छैन। शुक्रबार बिहान पनि त्यहाँ दुइटा दमकल र केही पानी ट्यांकर तैनाथ गरिएको छ।

मंगलबार राति पुछारको तलामा रहेको प्रज्ज्वलनशील वस्तुहरू विस्फोट हुँदै आगाको लप्का निस्कन थालेपछि स्थानीय त्रसित बनेका थिए।

त्यो बेलाको भएको ८० लाख रूपैयाँको क्षति नै ठूलो थियो। तर अहिलेको क्षति अकल्पनीय भएको र व्यवसायीको मनोबलमाथि नै निर्मम प्रहार भएको कर्मचारीहरूले बताएका छन्।