रवि लामिछानेले दिउसै पारे रात
काठमाडौं – नख्खु कारागार प्रशासनले कारागारबाट फर्किएका सबै कैदीबन्दीलाई फर्कन आह्वान गरेको छ । जेन–जीको आन्दोलनका क्रममा यही भदौ २४ गते करिब १३ सय कैदीबन्दी कारागारबाट भागेका थिए ।
सोही क्रममा रास्वपा सभापति रवि लामिछाने पनि बाहिरिएका थिए । तर, शुक्रबार कारागार प्रशासनले रविसहित सबै कैदीबन्दीलाई कारागार फर्कन अपिल गरेको छ ।
शुक्रबार दिउँसो २ बजेसम्म १२० जना कैदीबन्दी फर्किएको बन्दी प्रशासन शाखाले जानकारी दियो । यही भदौ २४ गते दिउँसो नख्खु कारागारबाट बाहिर आएर साँझ रास्वपा सभापति रवि लामिछानले आफू कारागार प्रशासनले पत्र दिएर बाहिरिएको दाबी गरेका थिए । उनले एउटा ‘पेपर’ पनि सार्वजनिक गरेका थिए । तर, उक्त पेपर नक्कली रहेको नख्खु कारागारको बन्दी प्रशासन शाखाले जनायो ।
‘उहाँले देखाएको पेपर नक्कली हो । त्यसमा चलानी नम्बर केही छैन । उल्लेख भएका नाम मिल्दैन,’ नख्खु कारागारका एक कर्मचारीले भने ।
शुक्रबार नख्खु कारागारले सार्वजनिक अपिल गरेर सबै कैदीबन्दीलाई फर्कन भनेको छ । यो अपिल रवि लामिछानेलाई पनि लागु हुने ती कर्मचारीले बताए ।