आजबाट बीपी राजमार्गमा २४ सै घण्टा गाडी चलाउन पाइने
काठमाडौँ – यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज ९असोज १ गते० देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेमा सोमबार बसेको सुरक्षा समितिको बैठकले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा खुला गर्ने निर्णय गरेको हो। यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाएर स्वीकृत सडक सुरक्षा कार्य योजनाबमोजिम यस्तो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ।
गत असार पहिलो सातादेखि रातिको समयमा बीपी राजमार्गमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो। मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत पस्थान बिन्दु काभ्रेपलान्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो।
यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो।
काभ्रेको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा अहिले पनि जोखिम छ। काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो।