राष्ट्रिय वाणिज्य बैंकबाट ३८ करोड रुपैयाँ लुटियो

बुधबार, १ असोज २०८२

काठमाडौं—राष्ट्रिय वाणिज्य बैंकबाट ३८ करोड रुपैयाँ लुटिएको छ । संसद् भवनभित्र रहेको बैंकको शाखाबाट ५ करोड नगद र १८ किलो सुनसहित ३७—३८ करोड लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पुष्टि गरेका छन् ।

प्रदर्शनका क्रममा राष्ट्र बैंकमा भने क्षति नभएको उनको भनाई छ । बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंककै अनुसन्धानबाट नेपालभर ६८ वटा बैंकका शाखा र ६९ एटीएममा क्षति पुगेको छ ।

उनले सुशान्त प्रधानको पडकास्टमा दिएको अन्तर्वार्तामा संसद् भवनमा रहेको वाणिज्य बैंकमा ‘सिरियस चोरी’ भएको खुलासा गरेका हुन्। उक्त शाखाबाट ५ करोड नगद र १८ किलो सुन चोरिएको उनको भनाइ छ।

‘एक ठाउँमा भने सिरियस लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा ५ करोड नगद र १८ किलो सुन लुटिएको छ। ३७—३८ करोड बराबरको लुटपाट भएको छ’, उनले पडकास्टमा भनेका छन्।

प्रदर्शनका क्रममा राष्ट्र बैंकमा क्षति नभए पनि बैंकका शाखाहरुमा भने गम्भीर क्षति भएको देखिएको हो।

प्रदर्शन साम्य भएपछि गभर्नर पौडेलले २६ गते संसद् भवनमा रहेको उक्त शाखाको अनुगमन गरेका थिए।

सुरुवाती अनुसन्धानबाट संसद् भवनको वाणिज्य बैंकको शाखा कार्यालयका लकरसहित तोडफोड र लुटपाट हुँदा करोडौँको क्षति पुगेको गभर्नर स्वयंले खुलासा गरेका हुन्।

हालसम्म औपचारिक रुपमा उक्त शाखाबाट कति लुटपाट भयो भन्ने विवरण नआए पनि गभर्नर डा. पौडेलले ३८ करोड लुटिएको अनुमानित तथ्यांकबारे जानकारी दिएका छन्।