कांग्रेस सभापति शेरबहादुर देउवा नमजाले थलिए
काठमाडौं— कांग्रेस सभापति शेरबहादुर देउवा नमजाले थलिएका छन् ।
नेपाली सेनाको शिवपुरीस्थित तालिम केन्द्रमा चिकित्सक टोलीसँग उपचार गरिरहेका देउवा गर्धनमा गहिरो चोटका कारण बोल्न र उठ्न नसक्नेगरी थलिएका हुन् । उनको गर्धनमा १२ वटा टाँका लगाइएको सैनिक श्रोतले जनाएको छ ।
कांग्रेसको प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले देउवाको स्वास्थ्य सुधार उन्मुख रहेको बताए । उनले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा पुगेको दावि गरेका छन् ।
सुरुमा हामी अत्तालिएका थियौं । लगत्तै स्वास्थ्य उपचार राम्रो हुँदै गयो । उहाँहरू अहिले सामान्य अवस्थामा हुनुहुन्छ । स्वास्थ्यमा सुधार भइरहेको छ,’ विश्वकर्माले भने ।
सभापतिज्यूले दिनुभएको जानकारी अनुसार, गर्दनभन्दा माथि गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ,’ विश्वकर्माले भने, ‘त्यो भन्दा तल सामान्य चोट छ । त्यो टाँका लागेको ठाउँ र चोट निको हुँदै गएको अवस्था छ ।’
देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा छन् ।
‘उहाँ सामान्य बोलचाल, हिँडडुल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । चाँडोभन्दा चाँडो स्वास्थ्यमा सुधार भइरहेको अवस्था छ,’ उनले भने ।
चिकित्सकले केही दिन अझै अस्पतालमा राख्नुपर्ने बताएको पनि उनले जानकारी गराए ।
‘केही दिन अझै अस्पतालमा राख्ने । उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भइरहेको छ,’ उनले भने ।
चिकित्सकले धारिलो हतियारबाट घाउ लागेको बताए पनि के हतियार भन्ने चाहिँ नखुलेको उनले बताए ।
गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि कुटपिट भएको थियो ।
कुटपिटका क्रममा गम्भीर घाइते भएका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर, आक्रोशित युवाहरूले त्यतिबेला अवरोध गरेका थिए ।
पछि सेनाले स्थलमार्ग हुँदै बुढानीलकण्ठबाट उद्धार गरेको थियो ।