मिनबहादुर गुरुङले फेरि एकपटक जनताको मन जिते

शुक्रबार, ३ असोज २०८२

काठमाडौं—आन्दोलनको निशानामा परेका मिनबहादुर गुरुङले फेरि एकपटक जनताको मन जितेका छन् ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति बेहोरेका भाटभटेनीका मालिक गुरुङले कर्मचारीहरूको जागिर सुरक्षित गरिदिएका छन् ।

उनले उनीहरूलाई दसैँ भत्तासमेत दिनेसमेत घोषणा गरेका छन् । देशभरका २८ मध्ये २२ वटा शाखामा आक्रमण हुँदा पनि विचलित नभई कर्मचारीलाई खुसी पार्ने घोषणाले देशभर उनको प्रशंसा भइरहेको छ ।

देशभरका २८ मध्ये २२ वटा शाखामा भएको आक्रमणबाट १२ वटा शाखा तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन्।

यीमध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध,चुच्चेपाटी, कोटेश्वर र बालुवाटारका पाँच शाखा तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सात शाखा पुनर्निर्माणपछि मात्र खुल्नेछन्।

सबै स्टोर पुनः सञ्चालन गर्ने प्रतिबद्धता
आन्दोलनबाट निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा पनि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सबै स्टोरहरू पुनः सञ्चालनमा ल्याउने दृढता व्यक्त गरेका छन्। उनले उपत्यकाभित्रका स्टोरहरू चार महिनाभित्र र उपत्यका बाहिरका स्टोरहरू १० महिनाभित्र सञ्चालनमा ल्याइसक्ने बताए।

गुरुङले भने, ‘हामी खरानीबाटै भए पनि माथि उठ्छौँ, हाम्रा सबै स्टोरहरू खडा गरेरै छाड्छौँ। हामीसँग जोडिएका कसैको रोजीरोटी गुम्न दिँदैनौँ। स्टोरहरू सञ्चालनमा नआउन्जेल पनि उहाँहरूको रोजगारी गुम्दैन। ऋण नै गरेर पनि दसैँ मनाउने व्यवस्था पनि गर्छौँ।’

भाटभटेनीमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन्। कम्पनीले सञ्चालनमा रहेका अन्य स्टोरहरूमा काम मिलाएर उनीहरूको रोजगारी सुनिश्चित गर्ने जनाएको छ। गत आर्थिक वर्षमा भाटभटेनीले २७ अर्ब रुपैयाँ बराबरको बिक्री गरेको थियो।

गुरुङले आफूले सधैँ जनता र राष्ट्रको सेवामा काम गरेको भए पनि निशानामा परेकोमा दुःख व्यक्त गरे। उनले आफ्ना ग्राहकहरूसँग पुनर्निर्माण अवधिभर धैर्य गरिदिन आग्रह पनि गरेका छन्।