तुइन खोलाको पहिरोले मुग्लिनमा हजारौँ यात्रु अलपत्र
काठमाडौँ – मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै पहिरो जाँदा शुक्रबार साँझदेखि हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाडौँ भित्रिने र बाहिरिने सवारी लामो समयसम्म रोकिँदा हजारौँ यात्रुहरू मर्कामा परेका हुन् ।
साँझ करिब ६:३० बजेबाट ढुंगा खस्न थालेको र आज बिहान ७:४० बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। करिब ७० मिटर माथिबाट ढुंगा खसिरहेकाले पहिरो हटाउन कठिनाइ भएको छ।
बिहान खसेको ठूलो पहिरो करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा फैलिएको बताइएको छ। हाल ३ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरी दुवैतर्फबाट पहिरो हटाउने काम जारी छ। साथै, मुग्लिनतर्फबाट अर्को एउटा एक्साभेटर पनि घटनास्थलतर्फ पठाइएको छ।
प्राविधिकहरूका अनुसार थप पहिरो खस्ने क्रम रोकिएमा कम्तीमा ४ घण्टाभित्र सडक खुल्ने सम्भावना रहेको छ।