तिन दिनदेखि अबरुद्ध मुग्लिन-नारायणगढ सडक अझै खुलेन
काठमाडौँ – शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । चितवनको तुइनखोला पुल नजिक निरन्तर झरिरहेको पहिरोका कारण सडक खुल्न नसकेको हो । सडक डिभिजन कार्यालय भरतपुर चितवनका अनुसार त्यहाँ ढुंगा झर्ने क्रम अझसम्म पनि रोकिएको छैन ।
अहिले बिहानैदेखि मुग्लिनतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरि पहिरो पन्छाउने कार्य थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याइने सडक डिभिजन कार्यालयको भनाइ छ ।
बाटो अवरुद्ध हुँदा सयौं यात्रुहरू अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयले यस सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक माध्यम प्रयोग गर्न अनुरोध गरेको छ ।
शनिबार चारवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरिए पनि माथिबाट ढुंगा खसिरहेकाले काम निरन्तर गर्न नसकिएको डिभिजनले जनाएको छ । राति काम बन्द गरेको सडक डिभिजनले आइतबार बिहानैबाट काम थालेको हो ।