जेनजीको आन्दोलनमा देखिएका कालो नकाबधारी युवाको पहिचान खुल्यो
काठमाडौं—जेनजीको आन्दोलनमा देखिएका कालो नकाबधारी युवाको पहिचान खुलेको छ ।
पैतालादेखि शिरसम्मै कालो ड्रेस लगाएका ती युवा निकै हट्टाकट्टा देखिन्छन् ।
शिरमा कालो टोपी, कालै चश्मा, कालै कपडाले मुख समेत ढाकेका, कालै टिसर्ट, पाइन्ट र कालै जुत्ता लगाएका ती युवा ‘हामी नेपाल’ टिमकै सदस्य रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
हामी नेपाल टिमका संयोजक सुदन गुरुङले यस्तो हुलियामा देखिएका व्यक्ति २१ वर्षीय जेनिश मजर्हन भएको स्वीकारेका छन् । अरु कुनै कारणले नभई यो पोशाक उनको व्यक्तिगत रूचिका कारण लगाएको बताएका छन् ।
योसँगै ती युवाले वाकिटकी पनि बोकेका थिए ।
जेनजी प्रदर्शनका दौरान एउटा वाकिटकी जेनिश, अर्को मेडिकल टिम र अर्को एम्बुलेन्सवालाले बोकेको हामी नेपाल टिमले बताएको छ । जेनजी प्रदर्शनका बेला जेनिशको जिम्मेवारी घाइतेलाई उद्धार गरेर एम्बुलेन्ससँग सम्पर्क गरी अस्पताल पुर्याउने रहेको बताइएको छ ।