नवनियुक्त शिक्षा मन्त्री महावीर पुन मन्त्रालयमै ओछ्यान लगाएर सुत्ने
काठमाडौं— नवनियुक्त शिक्षा मन्त्री महावीर पुन मन्त्रालयमा सुत्ने भएका छन् ।
केशर महलस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले मन्त्रालयमै खाने, सुत्ने र यहीँ बसेर काम गर्ने व्यवस्था मिलाउन सचिवलाई निर्देशन दिएका छन् ।
मन्त्री पुनले सेवासुविधासमेत नलिने बताएका छन् । शिक्षा क्षेत्रमा केही सुधार गर्ने वचन दिएका उनले विज्ञसँग सल्लाह गरेर आवश्यक निर्णय लिने बताए । उनले आफूलाई मन्त्री बन्छु भन्ने नलागेको बताउँदै किताव बेच्दाबेच्दै आफू मन्त्री बनेको जिकिर गरे ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले केशर महलस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभारग्रहण गर्नुअघि शीतल निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रालयमै खाने, सुत्ने र यहीँ बसेर काम गर्ने बताएका छन् ।
सेवासुविधा लिने कि नलिने र शिक्षा निःशुल्क हुन्छ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘सेवा सुविधा मलाई केही पनि चाहिन्न, म मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो । मन्त्रालयभित्र किचन होला, यही पकाएको खाने, ओछ्यान लगाएर यही सुत्ने, यही काम गर्ने हो । म मन्त्री हुँदैमा सबै सुधार हुन्छ भन्ने छैन । म भगवान हैन । म शिवजी अथवा भगवान भईदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ ।’
शिक्षा क्षेत्रमा केही सुधार गर्ने वचन दिएका उनले विज्ञसँग सल्लाह गरेर आवश्यक निर्णय लिइने जानकारी दिए ।
आफू मन्त्री बन्छु भन्ने नलागेको र इन्कार गर्दागर्दै मन्त्री हुन पुगेको उनले बताए ।