प्रचण्डलाई अध्यक्ष छाड्न नारायणकाजीको प्रस्ताव

बिहिबार, ९ असोज २०८२

काठमाडौं – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न भन्दै पार्टीका कमीकमजोरी औँल्याएका छन्। केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै पार्टी पुनर्गठनको लागि आफूलाई कार्यवाहक अध्यक्ष दिन पनि माग गरे।

उनले भने, अहिले जेनजी विद्रोहात्मक आन्दोलन ले दिएको सन्देश पारेको प्रभाव र निर्वाचनमा गर्नु पर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ ।

उनले माओवादी शान्ति प्रक्रियामा आएदेखि नै गम्भीरता, तत्परता नीति, योजना र आचरण प्रदर्शन गर्न नसकेको बताए।
उनले भने, ‘हाम्रो पार्टी स्वयं वैचारिक सांस्कृतिक रूपले स्खलित र भ्रष्टिकृत हुँदै जानु हाम्रो सबभन्दा ठुलो कमजोरी हो । यसरी हजारौँ महान् शहीदहरूको रगतबाट निर्मित हाम्रो पार्टीले ती महान् शहीदहरूको सपना साकार गर्ने दिशामा अपेक्षित गुणात्मक भूमिका खेल्न नसकेको मा पार्टीले आम जनसमुदाय समक्ष विनम्रतापूर्वक क्षमा याचना गर्नु पर्दछ।’

पार्टीले पार्टी महाधिवेशन र केन्द्रीय समितिको विभिन्न बैठकहरूमा आत्मसमीक्षा गर्दै पार्टीको अहिलेको भ्रष्टीकृत, स्खलित र कमजोर स्थितिको यथार्थलाई स्वीकार गरेर रूपान्तरण र पुनर्गठनको महाअभियान अघि बढाउनुपर्ने बताए।