सम्पत्ति शुद्धीकरण विभागको टोली रित्तोहात फर्कियो

बिहिबार, ९ असोज २०८२

काठमाडौं— देउवा, ओली, प्रचण्डको घरमा प्रमाण खोज्न गएको सम्पत्ति शुद्धीकरण विभागको टोली रित्तोहात फर्किएको छ ।

विभागका एक उच्च अधिकारीका अनुसार डडेका नोटको मुचुल्का गरेर अनुसन्धान टोली फर्किएको छ ।

उक्त टोलीले देउवा, ओली, प्रचण्डसहित दिपक खड्कालाई समेत चोख्याएको उनको भनाई छ ।

हाल मुचुल्का गरेका प्रमाणले सम्पत्ति शुद्धीकरणमा दोषी करार गर्न नसकिने भन्दै विभागले थप अनुसन्धानका लागि माथिल्लो तहसँग अनुमति मागेको छ ।

गत भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा देउवा, प्रचण्ड र खड्काको घरमा पैसाका थुप्रो जलेको भनेर भिडियो बाहिरिएको थियो । खड्काको घरबाट पैसा फालेको भिडियो समेत सार्वजनिक भएको थियो ।

बूढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपैयाँ हजार,पाँच सयका नोट जलेको टुक्राहरू भेटिएका थिए ।

देउवाको घरमा पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी प्रत्यक्षदर्शीले गरेका थिए । तर, देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गर्दै पैसा राख्ने सुरुङ नभएर अन्डरग्राउन्ड पानी ट्याङ्की पुरेको दाबी गरेका थिए ।

प्रचण्डको निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको र डढेको भनेर भिडियो भाइरल बनेका थिए । सामाजिक सञ्जालमा जलेको नोटका तस्वीरहरू सार्वजनिक भएका थिए ।

विभागका एक उच्च अधिकारीका अनुसार देउवा, ओली, प्रचण्ड र खड्काको घरमा पुगेर मुचुल्का गर्दा केही डढेका नोटबाहेक केही भेटिएको छैन ।

‘हाल मुचुल्का गरेका प्रमाणले सम्पत्ति शुद्धीकरणमा दोषी करार गर्न सकिँदैन,’ स्रोतले भन्यो, ‘अब उहाँहरूलाई बयान लिने, उहाँहरूको अन्य जायजेथा सम्पत्ति, सार्वजनिक पदमा बसेका बेला आम्दानी भएका सम्पत्ति, बैंक खातामा जम्मा भएका विवरण लगायत संकलन गर्ने र नगर्नेबारे माथिल्लो तहसँग समन्वय भइरहेको छ ।’

सुशीला कार्कीले प्रधानमन्त्री हुनुअघि नेताहरू भ्रष्ट रहेको र सत्तामा पुगेपछि खुलमखुला भ्रष्टाचार हुँदै आएको भनेर दिएको अभिव्यक्ति र हालै नेताहरूका घरघरमा सम्पत्ति शुद्धीकरणको टोली पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जेनजीका अगुवाहरूले पनि नेताहरूको अवैध सम्पत्ति राज्यको नाममा ल्याउन सके हाल विध्वंश बनाइएका सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरू पुनर्निर्माण गर्न पुग्ने बताइरहेका छन् ।

अर्थमन्त्री रामेश्वर खनालले अब विभागलाई अनुसन्धान अगाडि बढाउन कसरी निर्देशन दिन्छन् त्यसले पनि थप अनुसन्धानको बाटो खुल्ने विभागका अधिकारी बताउँछन् ।

‘नेताका घरमा पैसाको उड्दा समेत छानबिन नहुने, तर उजुरीकै भरमा अन्यको सम्पत्ति शुद्धीकरणमाथि छानबिन गर्नु न्यायिक हिसाबले पनि बराबर नहुने देखिएपछि माथिकै निर्देशनमा मुचुल्का उठाउन गएका हौं,’ विभागका एक अधिकृतले भने, ‘साँच्चिकै नेताहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने हो भने सरकारले बोल्ड निर्णय लिनुपर्छ र त्यही अनुसार टोली परिचालन गर्नुपर्छ ।’