अर्को विद्रोह गर्ने जेनजीहरुको चेतावनी
काठमाडौँ – सुधन गुरुङलाई विस्थापित गर्न जेनजी अभियन्ता मिराज ढुंगाना कम्मर कसेर लागेका छन् ।
आफूले सुरु गरेको जेनजी विद्रोह गुरुङले हाइज्याक गरेपछि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्ना माग स्पष्ट पारेका छन् । आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईंलाई भेटेर विवादित बनेपछि उनी केही समय गुमनाम भएका थिए ।
मिराजले प्रधानमन्त्रीसँग भेटेर जेनजीहरुको माग सम्बोधन नभए अर्को विद्रोह गर्ने चेतावनी दिएर फर्किएका छन् ।
सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको गृहकार्य हुँदैगर्दा मिराज केन्द्रमा देखिएका थिए । तर, आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईंलाई उनकै निवासमा गएर भेटेपछि उनी विवादित बने । उनले आफू प्रसाईंलाई आन्दोलनमा नआउनु भनेर सम्झाउन गएको प्रष्टीकरण दिएका छन् ।
ढुंगाना जेनजी आन्दोलनमा भने सहभागी नै भएनन् । आफू २३ र २४ भदौमा सडकमा ननिस्किएको उनले एक अन्तरवार्तामा बताएका छन् । केही युवाहरुले आफू आएमा विरोध गर्ने भनेर ‘थ्रेट’ दिएकाले नगएको उनको भनाइ छ । त्यस दिन उनी आफ्नै व्यवसायमा व्यस्त रहे । उनको फुलको व्यवसाय गर्छन् ।
आन्दोलनपछि एकाएक सुधन गुरुङ जेनजी लिडर बनेर हाइलाइट भए । सैनिक हेडक्वाटरदेखि शीतल निवाससम्म पुगे । अहिले पनि बालुवाटारदेखि शीतलनिवाससम्म उनको पहुँच छ । तर ढुंगाना भने ओझेलमा परेका थिए । सुधनले जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लाग्दै आएको छ ।