नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने

आइतबार, १२ असोज २०८२

काठमाडौँ – नेपाली कांग्रेसले मधेशमा सरकारको नेतृत्व गर्ने भएको छ । सिके रावत नेतृत्वको जनमत पार्टीले आफ्नो मुख्यमन्त्री फिर्ता बोलाउने निर्णय गरेसंगै प्रदेश सभाको दोश्रो ठुलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने भएको हो ।

०७९ को निर्वाचनबाट उदाएको जनमतलाई कांग्रेस र एमालेले सघाएपछि सतिषकुमार सिंह मुख्यमन्त्री बनेका थिए। तर, उनी नेतृत्वको सरकार बनेको एक वर्षमा ढल्ने अवस्थामा पुगेको छ। मधेशमा नेतृत्व हेरफेरको मुद्दा पेचिलो रहे पनि सिंह नेतृत्वको सरकार चलिरहेकै थियो।

तर, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मुख्यमन्त्री सिंहले आफ्नै खुट्टामा बन्चरो हानेपछि अवस्था फेरियो। सिंहले सुरुमा राजीनामा घोषणा गरे, पछि फिर्ता लिए। तर, कांग्रेससहितका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी संकटमा परेका छन्।

उनकै दल जनमतले पनि उनलाई फिर्ता बोलाइसकेको छ। तर, सिंहले मानेका छैनन्। सिंहले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। अहिलेको अवस्थामा सिंहले विश्वासको मत पाउने अवस्था छैन। मधेशमा कांग्रेसको २२, एमालेको २३ र जसपाकोे १५ सिट छ। त्यस्तै, जनमतको १२, माओवादीको ८, एकीकृत समाजवादीको ७, लोसपाको ९, राप्रपाको २ सिट छ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति जुटेको छ । नयाँ गठबन्धनमा कांग्रेस, एमाले, जनमत र लोसपासहित चार दल सहभागी हुने सम्भावना छ ।