नेताहरुलाई जेल हालेरमात्र चुनाव गर्ने सुदन गुरुङको घोषणा

आइतबार, १२ असोज २०८२

काठमाडौँ – जेन जी आन्दोलनका नेता सुदन गुरुङले नेताहरुलाई जेल हालेरमात्र चुनाव गर्ने घोषणा गरेका छन् ।

नेताहरुलाई अनुसन्धानका लागि जेल हाल्दा राजनीतिक हिंसान हुनसक्ने बताए । गुरुङले नेताहरुलाई चुनावमा भाग लिन नदिने बताउँदै कतैबाट जितेर आए पनि अस्वीकार्ने घोषणा गरेका छन् ।

मुख्य नेताहरूलाई हिंसा र भ्रष्टाचार अनुसन्धानका लागि पक्राउ गरेर चुनावमा जान नदिने उनको भनाई छ । अलजजिरासँग कुरा गर्दै गुरुङले नेतालाई जेल हाल्दा बदालाको भावले राजनीतिक दल हिंसामा आउनसक्ने बताएका हुन् ।

आफूलाई जेन जी आन्दोलनको अगुवाका रूपमा उभ्याएका सुदन गुरुङले अलजजिरासँगको अन्तर्वार्तामा केही रोचक र केही चिन्ताजनक कुरा बताएका छन्।

पहिलो, उनले चुनाव लड्ने घोषणा गरेका छन्। र, जनताले चाहे प्रधानमन्त्रीको उम्मेदवार बन्ने पनि बताएका छन्।‘उनीहरूले हामीलाई राजनीतिमा तानेका छन्। उनीहरूले चाहेको यही हो भने हामी राजनीति गर्छौं। हामी आउँदोचुनाव लड्छौँ। किनकि हामी पछि हट्दैनौँ,’ गुरुङले भनेका छन्।

उनले देशभर समर्थक परिचालन गरेको दाबी पनि गरे। उनले आफू स्वतन्त्र उम्मेदवारका रूपमा नभई समूहका रूपमा चुनाव लड्ने बताएका छन्। ‘स्वतन्त्र उम्मेदवारका रूपमा मैले चुनाव लडेँ भने युवाहरूको शक्ति हामीसँग हुने छैन। साथमा हामी बलियो हुनेछौँ,’ उनले भने।

प्रधानमन्त्री बन्ने चाहना छ कि छैन भन्ने प्रश्नमा गुरुङले भनेका छन्, ‘म अझ क्षमतावान व्यक्ति नेपालको प्रधानमन्त्री भएको हेर्न चाहन्छु। अहिले नै म यसका लागि उपयुक्त पात्र हुँ भन्दिनँ। मभन्दा राम्रा उम्मेदवार अरु छन्। म प्रधानमन्त्री हुन्छु कि हुन्न, निश्चित छैन। तर, जनताले मलाई रोजे भने म निश्चय नै उठ्नेछु।’

दोस्रो, पुराना राजनीतिक दलहरूलाई चुनाव लड्न नदिने गुरुङले बताएका छन्। त्यसका लागि भ्रष्टाचार र जेन जी आन्दोलनमा भएको हत्याको अनुसन्धान सुरु गर्ने उनको भनाइ छ।