मदिराको तालमा आफन्तको हत्या, सहोदर दाजुभाइ पक्राउ

शुक्रबार, १७ असोज २०८२

काठमाडौँ – प्यूठानमा एक युवकको हत्या आरोपमा सहोदर दाजुभाइ पक्राउ परेका छन्। जिल्लाको गौमुखी गाउँपालिका–६ लिवाङका २३ वर्षीय सन्तोष सुनार र २८ वर्षीय गोपाल सुनार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीका अनुसार असोज १५ गते बिहान ६ बजेतिर लिवाङस्थित स्कुल धारादेखि मच्छी जाने कच्ची सडक खण्डमा स्थानीय २४ वर्षीय प्रकाश सुनार मृत अवस्थामा फेला परेका थिए।

अनुसन्धान क्रममा उनको हत्यामा संलग्न रहेको आरोपमा सहोदर दाजुभाइ सन्तोष र गोपाल दसैंको अघिल्लो दिन असोज १५ गते पक्राउ परेका हुन्।

डिएसपी अधिकारीका अनुसार असोज १४ गते राति मृतक प्रकाश र सन्तोषले सँगै बसेर मदिरा सेवन गर्ने क्रममा आपसमा विवाद भएको थियो। विवादपछि झगडा हुँदा सन्तोषले दाजु गोपाललाई बोलाएका थिए। त्यसपछि दाजुभाइ मिलेर प्रकाशमाथि कुटपिट गरेका थिए।

कुटपिटपछि दाजुभाइ मिलेर प्रकाशलाई ढिस्कोबाट लडाइदिएका थिए वा प्रकाश ज्यान जोगाउन भाग्ने क्रममा आफै ढिस्कोबाट लडेका थिए भन्ने अनुसन्धान हुन बाँकी रहेको डिएसपी अधिकारीले बताएका छन्। प्रकाशको शव ढिस्कोभन्दा अन्दाजी सय फिटमुनि कच्ची सडकमा घोप्टो अवस्थामा फेला परेको थियो।

मृत अवस्थामा फेला परेका प्रकाश र हत्यामा संलग्न भनिएका दाजुभाइबीच आपसमा नाता सम्बन्ध पनि रहेको डिएसपी अधिकारीले बताए।