छोराले काटे आफ्नै आमाको टाउको
काठमाडौं – आफ्नै छोराले आमाको विभत्स हत्या गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ को थापाकटेरी भन्ने ठाउँका ३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवन गरेर ५५ वर्षीया आमा राममायाको टाउको र शरीर छुट्टिनेगरी विभत्स रुपमा हत्या गरेका हुन् ।
हिजो आइतबार (१९ असोज) राति साढे ८ बजेतिर यमबहादुरले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गरेका हुन् । प्रहरी चौकी सल्यानकोटले यमबहादुरलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, यमबहादुर यसअघि पनि पटकपटक विभिन्न मुद्दामा पक्राउ पर्दै आएका व्यक्ति हुन् । उनी गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न भएर काम गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ । ‘आपराधिक गिरोह चलाउने दिने अधिकारी चरी समूहमा पनि उनी संलग्न रहेको खुल्न आएको छ,’ प्रहरी स्रोतको भनाइ छ ।
यमबहादुर काठमाडौं बस्दै आएका थिए । उनी दशैं मनाउन फूलापतिको अघिल्लो दिन मात्रै गाउँ पुगेका थिए । यमबहादुर दुर्व्यसनीमा फसेका व्यक्ति हुन् ।आइतबार राति ८ बजेतिर उनले गाउँघरतिर पाइने भन्दा फरक खालको हतियार बोकेर घर प्रवेश गरेका थिए ।
घरमा भान्जाभान्जी, बुवा, आमा र यमबहादुरसहित पाँच जना थिए । उनले सुरुमा भान्जालाइ खुकुरी प्रहारको प्रयास गरे । भान्जा भागेपछि बुवालाई पनि प्रहार गर्न खोजेका थिए । यबमबहादुरका बुवा पनि भागेपछि उनले आमालाई प्रहार गरेका थिए ।
हत्या गरेपछि आँगनमा शव राखेर उनले बुवालाई पनि धम्क्याए । एक स्थानीय जनप्रतिनिधिले भने, ‘हामीहरू प्रहरीसहित पुग्दा उनी हातमा खुकुरी नचाइरहेका थिए । बुवाको काँधमा खुकुरी राखेर आफूले ठिक गरेको भन्दै घटना लुकाउन यमबहादुरले धम्की दिइरहेका थिए ।’
यमबहादुरलाई सुधार गृहमा लानका लागि बुवा गोपबहादुर कँडेल लगायतले उनलाई पटकपटक भन्दै आएका थिए । ‘यसपटक पनि घरमा उसलाई सुधार गृह पठाउने कुरा चलेको रहेछ,’ घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘यमबहादुरले मानेका रहेनछन् । सायद परिवार नै आफूलाई सुधार गृह पठाउने षड्यन्त्रमा लागेको शंका मानेर उसले हत्या गरेको हुनसक्छ ।’
उनै यमबहादुरले भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रहरीसँग प्रतिवादमा उत्रिएका उनले आफूलाई गोली हान्नसमेत चेतावनी दिएका थिए । ‘ठोक्ने भए गोली ठोक्नू । मार्ने भए मार्नू आनन्द त आउँछ । देशको बारेमा सोच्नै परेन । मेरो आत्मा भगवानले लानु हुन्छ । जिउँदो भए त देशको चिन्ता र तपाईँको आत्माले गर्दा सुत्नै सक्दैन,’ उनले प्रहरीलाई भनेका थिए ।
साथै, उनले प्रहरीसँग रिसाउँदै आफ्ना आमाबुवा र देशको बारेमा सोच्न पनि भनेका थिए । ‘म वान म्यान आर्मी हो । भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसिटी छ,’ उनले भनेका थिए, ‘त्यसैले तपाँइहरू पनि बेलैमा जनताका लागि सोच्नुस् । तपाईँहरुको आफ्ना आमाबुवा र देशको बारेमा सोच्नुस् ।’
उनको उक्त भिडियो सञ्जालमा धेरै हेरिएको थियो । तर, उनले गएराति आफूलाई जन्म दिने आमाकै विभत्स हत्या गरेका छन् ।