यी हुन् बालुवाटारको जग्गा धितो लिएर ऋण दिने बैंकहरु, कुन बैंकको कति ऋण ? विवरण सहित
काठमाडौं – भूमाफिया र सरकारी अधिकारी मिलेर कब्जा गरेको बालुवाटारको सरकारी जग्गा धितो लिएर ऋण दिने बैंकहरु भण्डै २ अर्ब २० करोड डुब्ने निश्चित भएको छ।
जग्गाको अवस्थाबारे नहेरी प्रभावशाली नेता र व्यापारिक समूह हेरेर ऋण दिने बैंक तथा विक्तिय संस्थाको ऋण जोखिममा परेको छ भने राष्ट्र बैंकपनि ती बैंक तथा विक्तिय संस्थालाई कारवाही गर्ने खतरासमेत बढेको छ।
सरकारले अधिग्रहण गरेको सरकारी जग्गा बदनियतपूर्वक नीजि बनाएको ललिता निवासको जग्गामा १७ वटा बैंक तथा वित्तीय संस्थाले दुई अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यस मध्ये तीन वटा बैंक तथा विक्तिय संस्थाले कर्जाको भुक्तानी पाइसकेर जग्गा फुकुवा भैसकेको छ । फुकुवा पछि पनि दुई अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ ।
यसरी कर्जा लिनेमा नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलसमेत छन्। उनले साविकको यति डेभलपमेन्ट बैंक (हाल महालक्ष्मी विकास बैंक)बाट ४९ लाख रुपैयाँको कर्जा लिएका छन्।
कुन बैंकको कति फस्यो ?
ललिता निवासको जग्गामा सबैभन्दा धेरै लक्ष्मी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जा प्रवाह गरेको देखिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले मात्रै एक अर्ब बढि रुपैयाँको कर्जा प्रवाह गरेको छ।
इन्भेष्टमेन्ट बैंकले इन्दु शर्मा, विवेक कुमार सुवेदी, पुरुषोत्तम पौडेललाई कर्जा दिएको छ । त्यस्तै लक्ष्मी बैंकले पनि ४७ करोड भन्दा बढि रुपैयाँको ऋण लगानी गरेको देखिन्छ।
लक्ष्मी बैंकले ललिता निवासको जग्गा धितोमा राखेर सरला गुरुङ, कामना गुरुङ, कल्याण गुरुङलाई उक्त कर्जा दिएको पाइएको छ ।
त्यसैगरी, आइएमई फाइनान्स इन्स्टिच्युसन, नेपाल बैंक लिमिटेड, यति डेभलपमेन्ट बैंक, युनिक फाइनान्स इन्स्टिच्युसनल, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, आर्या तारा बचत तथा ऋण, युनिक फाइनान्स इन्स्टिच्युसनल, तत्कालीन बैंक अफ एसिया नेपाल, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक र किष्ट बैंकले ऋण प्रवाह गरेका छन् ।
