गुन्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना
काठमाडौं– जिल्ला अदालत काठमाडौंले डन रमेश बाहुन अर्थात् सुजन पौडेललाई लागुऔषध मुद्दामा दोषी ठहर गर्दै सजायको फैसला सुनाएको छ। अदालतले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना गर्ने फैसला सुनाएको हो।
न्यायाधीश नवराज दाहालको इजलाशले शुक्रवार दोषी ठहर गर्दै सजाय सुनाएको हो। २०७१ साल साउन १४ गते उनीविरुद्ध लागुऔषध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा पाँच वर्षपछि फैसला सुनाउँदै जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो।
बाहुनविरुद्ध १५ वर्ष कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। २०७१ असार १० गते कलंकीबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइनसहित उनी पक्राउ परेका थिए। लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ ९२०अनुसार उनीविरुद्ध मुद्दा दायर गरिएको थियो। बाहुनले लागुऔषध खैरो हिरोइन बिक्री गर्ने मनसाय राखी बोकेकोले हदैसम्मको कैद र जरिवाना हुनुपर्ने सरकारी पक्षको दावी थियो। जिल्ला अदालतले सुरुमा मुद्दाको सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। २०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
झन्डै इन्काउन्टरमा
२०७१ सालमै रमेश बाहुन उर्फ सुजन पौडेलको इन्काउन्टर गर्न खोजिएको थियो। त्यसलगत्तै दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर भएको थियो।
उनलाई हालका प्रधानमन्त्री केपी शर्मा ओलीले टीका लगाएर तत्कालीन एमालेमा प्रवेश गराएका थिए। आफ्नो इन्काउन्टरको सूचना पाएपछि उनी भागेर भारत गएर लुकेका थिए।
तर प्रहरीले गोप्य रुपमा नेपाल ल्याएको थियो। नेपाल आएको १२औं दिनपछि उनलाई सार्वजनिक गरिएको थियो। तत्कालीन समयमा लागुऔषध र कटुवा पेस्तोलसहित उनी पक्राउ परेका थिए।