अख्तियार प्रमुखलाई महाअभियोग ?
काठमाडौं – सामाजबादी पार्टीले काँग्रेसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई महाअभियोग लगाउनु सुझाव दिएको छ । समाजबादीले ‘राजनीतिक प्रतिशोध’ का आधारमा विजयकुमार गच्छदारविरुद्ध मुद्दा चलाइएको भन्ने निष्कर्षमा पुगेको नेपाली कांग्रेसलाई महाअभियोगमार्फत् अघि बढ्न सुझाव दिएको हो ।
‘राजनीतिक पूर्वाग्रह’ राखी अख्तियारले गच्छदारलगायतलाई भ्रष्टाचार र अनियमितताको मुद्दा चलाएको भन्दै कांग्रेसले तीनपटकसम्म संसद अवरुद्ध गरेपछि समाजवादीले यस्तो सुझाव दिएको हो।
समाजवादीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठकको विशेष समय लिएर बोल्दै ‘राजनीतिक प्रतिशोधका कारण गच्छदारलाई फसाउन खोजिएको’ भन्ने कांग्रेसको अभिव्यक्तिलाई समात्दै उक्त सुझाव दिएकी हुन्।
‘लोकमानसिंह कार्की र सुशीला कार्कीको कार्यसम्पादन राम्रो नभएको भनी यसअघि महाअभियोग लगाइएको थियो,’ उनले संसद्मा भनिन्, ‘कांग्रेसलाई पनि अख्तियारले राजनीतिक प्रतिशोध साँधेको भन्ने लागेको छ भने महाअभियोग लगाउनसक्ने विकल्प खुला छ, त्यतातिर अघि बढनुहोस् ।’ संविधानको धारा १०१ ले संवैधानिक निकायका प्रमुखमाथि महाअभियोग लगाउने बाटो खुला हुदाँहुदै संसद अवरोध गरेर संसद्लाई बन्दक बनाएकोमा आक्रोश पोखिन्।