विमल र दीनेशको निलम्बन पर्सी सकिँदै
काठमाडौ- राष्ट्रिय टोलीका फरर्वाड विमल घर्तीमगर र दीनेश राजवंशीको निलम्बन बिहीबार फुकुवा हुँदैछ । अनुशासन उल्लंघनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल र दीनेशलाई ९० दिन निलम्बन गरेको थियो ।
एउटै घटनामा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबका अन्जन विष्ट र त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ भने ४५ दिनको निलम्बन फुकुवा भएर घरेलु लिगमा फर्केको डेढ महिना भइसकेको छ । पुनरागमन पनि अन्जन र सन्तोषले उच्च प्रदर्शन गरिरहेका छन् ।
सन्तोषले पुनरागमन गरेकै खेलमा रुस्लान थ्री स्टार क्लबको जितमा गोल गरेका थिए । अर्को तर्फ अन्जनले खाता खोल्नका लागि तेस्रो खेल सम्म कुर्नु परेपनि उनी लिगमा तीन पटक म्यान अफ दी म्याच घोषित भइसकेका छन् । निलम्बन अवधि फरक भएपनि जरिवाना भने चारै खेलाडीलाई एन्फाले ५० हजार रुपैयाँ तोकेको थियो ।
विश्वकप छनोट अन्तगर्त कुवेतविरुद्ध मंसिर ३ गते भुटानमा खेल्न जानु अघिल्लो रात डिस्कोमा बिताएका कारण एन्फाले उनीहरुमाथि कारवाही गरेको थियो । कात्तिक ३० गते भुटान जान विदाईका लागि एन्फाका पुगेका यी ४ जनालाई एन्फाले कारवाही गरेपछि उनीहरु घर फर्केका थिए ।
घटनाको झन्डै एक महिनापछि मंसिर २७ गतेबाट लागु हुने गरि कारवाही गरेको थियो । पछि चारै जानले कारवाही घटाउन मंसिर ३० गते अलग अलग अपिल कमिटीलाई निवेदन दिएका थिए । अपिल कमिटिले कारवाही अवधि नघटाई कात्तिक ३० गतेबाट लागु गर्ने निर्णय गरेको थियो ।