शेयरधनीलाई ठग्दै एसियन लाइफ इन्सुरेन्स
काठमाडौं – एसियन लाइफ इन्सुरेन्स कम्पनीले आफ्ना शेयर धनीहरुलाई ठग्ने गरेको पाइएको छ । लामो समयसम्म कम्पनीले साधारणसभा नगरेर शेयरधनीलाई ठग्ने गरेको हो । साधारणसभाबाट कम्पनीले शेयरधनीहरुका लागि लाभांस पारित गर्ने र त्यहि अनुसार लाभांस वितरण हुने गर्दछ । यसरी साधारणसभा नगरेर एसियन लाइफ इन्सुरेन्स कम्पनीले शेयरधनीलाई लाभांसबाट बन्चित गर्दै ठगी गरिरहेको छ ।
कम्पनीको आन्तरिक व्यवस्थान कम्जोर हुँदा बार्षिक साधारणसभा गर्न सकेको छैन । आर्थिक बर्ष २०७४ं/७५ र २०७५/७६ को आन्तरिक लेखा परिक्षण गर्न नसक्दा साधारणसभा हुन नसकेको कम्पनीले गैरजिम्मेवारी तर्क गर्न थालेको छ । कम्पनीका सूचना अधिकारी होमबहादुर श्रेष्ठका अनुसार आन्तरिक लेखापरिक्षक नियुक्ति गर्न नसक्दा साधारणसभा हुन ढिलाई भएको हो ।
बीमा कम्पनीको नियामक निकाय बीमा समितिले पनि बारम्बार ताकेता गर्दासमेत आजसम्म लेखापरिक्षण प्रतिवेदन विमा समितिमा पेश गर्न सकेको छैन । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बीमा कम्पनीहरुले कम्पनी ऐन अनुसार बार्षिक साधारणसभा गनुपर्ने बताए । मोटिभेट न्यूजसँग कुरा गर्दै अधिकारीले कुनैपनि कम्पनीले बार्षिक साधारणसभा कम्पनीको नियम अनुसार आर्थिक बर्ष समाप्त भएको ६ महिना भित्र गरिसक्नुपर्ने बताए ।
उनले भने अनुसार कम्पनी ऐन २०६३ ले आर्थिक बर्ष सकिएको ६ महिना भित्र बार्षिक साधारणसभा गरिसक्नु पर्ने प्रावधान गरेको छ । विशेष कारण भएमा पव्लिक लिमिटेड कम्पनीका लागि ३ महिना समय थपगरी साधारणसभा गर्न सकिने कानुनी व्यवस्था छ । तर एसियन लाइफ इन्सुरेन्स कम्पनीले तीन बर्ष पुरा हुनलाग्दा समेत बार्षिक साधारणसभा गर्न सकेको छैन ।
कम्पनीका व्यवस्थापकहरुको कमजोर व्यवस्थापनका कारण हरेक बर्ष बार्षिक साधारणसभा ढिला हुँदै आएको छ । यस अघि आर्थिक बर्ष २०७२/७३ र ७३/७४ को साधारणसभा पनि एकै चोटी भएको थियो । कम्पनीले अहिले पनि दुई आर्थिक बर्षको साधारणसभा एकै चोटी गर्ने निर्णय गरेको कम्पनीका सूचना अधिकारी होमबहादुर श्रेष्ठले बताए ।
‘लेखापरिक्षकले काम गरिरहनु भएको छ’ कम्पनीका सूचना अधिकारी श्रेष्ठले भने, ‘आगामी असारसम्ममा साधारणसभा गरिसक्छौं ।’ अहिले आर्थिक बर्ष २०७४/७५ को आन्तरिक लेखापरिक्षण कार्य चलिरहेको र त्यो सकिने विक्तिकै ०७५/७६ को लेखापरिक्षण हुने श्रेष्ठको भनाई छ ।
लेखापरिक्षण सकिएपछि कम्पनीले असारमा दुई बर्षको बार्षिक साधारणसभा एकै चोटी गर्ने कम्पनीले जनाएको छ ।