नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाउन माग

शुक्रबार, २ फाल्गुन २०७६

काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा तोकिएको छ ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई चुनौति दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

सरकारी जग्गा हिनामिना गर्न तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरे पनि त्यही मन्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला न्यौपानेले रिट दायर गरेका हुन् ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा मिलोमतामो व्यक्तिको नाममा पुर्‍याइएपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । पूर्व भौतिकमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा लागेपछि कांग्रेस आक्रोशित भएको छ ।