सेनाको आक्रमणमा ३० यमनीको मृत्यु
काठमाडौं – साउदी–यूएई नेतृत्वको संयुक्त सैनिक गठबन्धनको हवाई कार्बाहीमा कम्तिमा ३० यमनी सर्वसाधारणको मृत्यु भएको छ । हुथी विद्रोहीका अनुसार शनिबार अल–जफ प्रान्तमा साउदी–यूएई नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा ती नागरिकको ज्यान गएको हो ।
सेनाको आक्रमणपछि जवाफस्वरूप उक्त लडाकु विमान मिसाइल आक्रमणमा खसालिएको हुथी विद्रोहीले जनाएको छ । हुथी विद्रोहीले ३० जनाको ज्यान गएको भने पनि संयुक्त राष्ट्रसंघले ३१ जनाको ज्यान गएको बताएको छ ।
‘प्रारम्भिक स्थलगत विवरणले ३१ जना नागरिकको ज्यान गएको र अरू १२ जना घाइते भएको देखिन्छ’, यमनका लागि संयुक्त राष्ट्रसंघका संयोजकले भने । एक वक्तव्य जारी गर्दै उनले घाइतेहरूको उपचार गर्न अस्पताल लगिएको छ भने कतिपयलाई राजधानी साना लगिएको छ ।
हुथी समूहले राष्ट्रपति अबद–रब्बु मन्सर हादीका विरुद्ध विद्रोह गर्दै आइरहेका छ । उसले राजधानी साना कब्जा गरेर बसिरहेको छ । राष्ट्रपति हादीलाई समर्थन गर्दै साउदी–यूएई नेृतत्वको सेनाले त्यहाँ २०१५ देखि आक्रमण गर्दै आइरहेको हो ।